धनगढी: संविधान दिवसको अवसरमा कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन ।
पछिल्लो राजनीतिक घटना क्रमलाई ध्यानमा राखेर संविधानको रक्षार्थ कैलालीका १३ वटै स्थानीय तहमा बृहत् मोटरसाइकल र्याली गरेको हो । कैलालीको चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौराहमा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए । उनले जेन–जी पुस्ताको भ्रष्टाचार विरोध अभियानमा सहमति जनाएको बताए । आन्दोलनमा घुसपैठ भएको उनले बताए । उनले भने, ‘आन्दोलनमा भौतिक क्षति भयो । निजी सम्मतिमा आगजनी गरिएको छ । भ्रष्टाचार, प्रदेश सभा खारेजी लगायतका विषयमा हामीले पहिलै उठाएको छौ । फेरि पनि हाम्रो समर्थन रहने छ ।’ देशका भौतिक संरचनामा ठुलो क्षति भएकाले पुनर्निर्माणमा जोडिने उनले बताएका छन् ।
प्रदेश सभा सदस्य चक्रबहादुर मल्ले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताए । उनले भने, ‘आन्दोलन अराष्ट्रिय तत्वहरूले लिड गरेका छन् । जेन–जी पुस्ताले पनि पछुताउनुपर्ने अवस्था बनेको छ ।’ प्रदेश सभा खारेजीको उनले माग गरेका छन् । उनले भने, ‘प्रदेश सरकारले नयाँ कुनै आयाम थपेको छैन । जनतामा खारेजीको माग छ । स्थानीय तहहरू मजबुतीको माग गरिएका छन् । हामीले पनि सोच्नुपर्ने अवस्था रहेको छ।’ संविधानको रक्षा नेपालीहरूको प्रमुख मुद्दा रहेको उनले बताएका छन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भीम पडालले संविधानको रक्षा गर्नुपर्ने बताए । उनले भने, ‘धेरै लामो समय लगाएर संविधान लेखिएको हो । यही संविधानको आधारमा सबै काम गर्नुपर्छ । जेन–जी आन्दोलन भ्रष्टाचार मुक्तिको आन्दोलन हो । उहाँहरूको मुद्दामा संवेदन हुनुपर्छ । उहाँहरूको निराशा आन्दोलनमा देखिएको हो । संविधान संशोधन गरेर उहाँहरूको माग मुद्दाहरु समेट्नुपर्छ ।’