काठमाडौं : प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते (नोभेम्बर २२ तारिक) भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी मंसिर ६ गते आइतबार नयाँ दिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबार औपचारिक वार्ता र भेट सुरु गर्नेछन् । उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत विशिष्ट अधिकारीहरू भेटवार्ता छन् । सोही दिन नेपाल-भारतबीच द्विपक्षीय वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने,‘परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयको समन्वयमा भ्रमणको मिति निर्धारण गरेका छौं । आकस्मिक घटना केही भएन भने प्रधानमन्त्री बालेन मंसिर ६ गते आइतबार भारत भ्रमणमा जानुहुनेछ ।’
भ्रमणका क्रममा भारतले नेपाललाई भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुन:र्स्थापनामा सहयोग र विशेष गरी क्रिकेटमा सहयोग गर्ने तयारी रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री बालेन र मोदीको द्विपक्षीय भेटवार्तामा नेपाल-भारतको सीमा सुरक्षा,सीमा विवादका बारेमा छलफल हुने परराष्ट मन्त्रालयका ति अधिकारीले बताए ।
भ्रमणका क्रममा नेपाल-भारतबीचको कनेक्टिभिटी, उर्जा, व्यापार, पारवहन, खेलकुद र पूर्वाधार विकास लगायतको विषयमा छलफल हुनेछ । त्यसबाहेक हवाई रुटका विषय समेत छलफलको एजेन्डा बनेको छ। प्रधानमन्त्री बालेनले युवा लक्षित कार्यक्रममा सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल्वे मन्त्रालयले जनकपुरधाम र अयोध्या सीधा रेल सञ्चालन गर्न स्वीकृति दिइएको छ । स्रोतका अनुसार भारत भ्रमणको अवसरमा प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीले मंसिर ७ गते अयोध्या–जनकपुर रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ ।
बालेन प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए। तर आन्तरिक समस्याका कारण बालेनले समय दिन सकेका थिएनन् । भर्खरै भएको भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणले प्रधानमन्त्री बालेनको भारत भ्रमणको ढोका खोलेको हो । भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेनलाई भेटेपछि उनको भारत भ्रमणको मिति तय भएको हो ।





