नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका–२ मा रहेको श्री जयभोले शंकर सामुदायिक वन उपभोक्ता समूहको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दायाँ राम रानाको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ (CFCC) कञ्चनपुरका उपाध्यक्ष नरेश भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा समूहकी सदस्य सुनिता रानाले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। सभामा समूहका सचिव नरेश रानाले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार समूहको कुल आर्थिक कारोबार ७ लाख १६ हजार १ सय रुपैयाँ बराबर रहेको जानकारी गराइएको थियो।
साधारण सभामा सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापनका विषयमा समेत चर्चा गरिएको थियो। वनजंगलको संरक्षण गर्नु सबै उपभोक्ताको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वनको महत्व, वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमलाई थप प्रभावकारी र मनोरञ्जनात्मक बनाउन वन संरक्षणसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो। साथै, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रानाथारू समुदायको मौलिक होरी नाचसमेत प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो।
कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरू, CBPAU का जिल्ला संयोजक सहदेव राना, स्थानीय भल्मन्सा लगायतको उपस्थिति रहेको थियो।
साधारण सभाले सामुदायिक वनको संरक्षण, पारदर्शी आर्थिक व्यवस्थापन, उपभोक्ताको सहभागिता र स्थानीय समुदायको सहकार्यबाट वन क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा सहभागी अतिथि तथा उपभोक्ताहरूले सामुदायिक वनलाई केवल काठदाउराको स्रोतका रूपमा मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको सुरक्षा र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडिएको महत्वपूर्ण सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।







