नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ मा रहेको श्री नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनको दिगो संरक्षण, वन स्रोतको उचित व्यवस्थापन तथा उपभोक्ताहरूको हकहितका विषयमा छलफल गर्दै सभा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह सेट्टीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिका वडा नं. ४ का वडा सदस्य रेवती ओड महरको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा सामुदायिक वन समन्वय समिति (CFCC) कञ्चनपुरका कोषाध्यक्ष नरेश भट्ट सहभागी हुनुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथि तथा उपभोक्ताहरूलाई स्वागत मन्तव्य राख्दै सामुदायिक वनकी सदस्य भुरी जेठाराले स्वागत गर्नुभएको थियो। सभामा समूहको वार्षिक गतिविधि, आर्थिक अवस्था, वन संरक्षण तथा आगामी दिनमा सञ्चालन गर्नुपर्ने योजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका सचिव पदम कार्कीले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको विवरणअनुसार समूहको कुल आर्थिक कारोबार ६ लाख ९७ हजार ८ सय ७५ रुपैयाँ बराबर रहेको जानकारी गराउनुभयो। प्रस्तुत आर्थिक विवरणमाथि उपभोक्ताहरूबीच छलफल गर्दै समूहको आर्थिक पारदर्शिता र जवाफदेहितालाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।
सभालाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा मनोरञ्जन थप्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुर्याएको थियो।
कार्यक्रमको सञ्चालन तीर्थराज भाटले गर्नुभएको थियो।
वार्षिक साधारण सभाले सामुदायिक वनको संरक्षण, पारदर्शी व्यवस्थापन र उपभोक्ताहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



