नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा आयोजना हुने पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ का लागि टिम दर्ता खुला गरिएको छ। श्री अमर ज्योति युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक विभिन्न क्लब तथा फुटबल टिमलाई आयोजकले निर्धारित समयभित्र टिम दर्ता गराउन आग्रह गरेको छ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार ५ रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी द्वितीय हुने टिमले नगद रु. १ लाख ५ रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ५ हजार ५ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ। टिम दर्ताको अन्तिम मिति २०८३ साल कात्तिक १९ गते बेलुका ५ बजेसम्म तोकिएको छ। प्रतियोगिता भने कात्तिक २१ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ।

त्यस्तै, कात्तिक २० गते बेलुका ४ बजे प्रतियोगिताको उद्घाटन कार्यक्रम, प्रतियोगिताको ट्रफी सार्वजनिक तथा खेल तालिका (टाइम सिट) सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले १६ जना खेलाडी, १ जना टिम म्यानेजर र १ जना टिम कोच गरी जम्मा १८ जनाको नामावली अनिवार्य रूपमा बुझाउनुपर्नेछ। साथै, प्रत्येक खेलाडीको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसमेत पेस गर्नुपर्ने आयोजकले जनाएको छ।

खेलकुदले युवाहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ। प्रतियोगितामा विभिन्न क्षेत्रका फुटबल टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

थप जानकारी तथा टिम दर्ताका लागि आयोजक श्री अमर ज्योति युवा क्लबमा सम्पर्क गर्न सकिनेछ।

आयोजकको सन्देश: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद।