नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भइरहेको आठौँ ICYC वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको चौथो दिन तीनवटा खेल सम्पन्न भएका छन्। चौथो दिन सम्पन्न खेलहरूमा सिद्धार्थ युवा क्लब कृष्णपुर, कृष्णपुर ABFC र स्वतन्त्रता युवा क्लब पर्सियाले जित हासिल गरेका छन्।
प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा सिद्धार्थ युवा क्लब कृष्णपुर र मछेली युवा क्लब वाणीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सिद्धार्थ युवा क्लब कृष्णपुरले उत्कृष्ट प्रदर्शन गर्दै मछेली युवा क्लब वाणीलाई २–० गोलको अन्तरले पराजित गरेको हो। खेलको सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको सिद्धार्थले विपक्षी टोलीलाई गोल गर्ने अवसरबाट रोक्दै सहज जित दर्ता गराएको थियो।
त्यसैगरी, दोस्रो खेलमा कृष्णपुर ABFC र सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा कृष्णपुर ABFC ले ९ गोल गर्दा सुदूरपश्चिम प्रदेश प्रहरीले ८ गोल मात्रै गर्न सफल भयो। एक गोलको अन्तरले कृष्णपुर ABFC विजयी हुँदै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो।
चौथो दिनको तेस्रो तथा अन्तिम खेलमा स्वतन्त्रता युवा क्लब पर्सिया र बैजनाथ युवा क्लब भुलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा स्वतन्त्रता युवा क्लब पर्सियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै बैजनाथ युवा क्लबलाई २–० गोलको अन्तरले पराजित गरेको छ। खेल अवधिभर राम्रो तालमेल र आक्रामक रणनीति अपनाएको स्वतन्त्रता युवा क्लबले जित आफ्नो पक्षमा पार्न सफल भएको हो।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव कायम तथा फुटबल खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आठौँ ICYC वडा अध्यक्ष कपले खेलप्रेमी तथा स्थानीय दर्शकहरूको उत्साहजनक सहभागिता पाइरहेको छ।





