लालझाडी 

कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्थानीय शिक्षा क्षेत्र योजनाको समीक्षा तथा स्थानीय कार्ययोजना कार्यशाला सम्पन्न भएको छ।

लालझाडी गाउँपालिकाको आयोजना तथा एक्सेस परियोजनाको सहयोगमा बुधबार कार्यशाला सम्पन्न भएको हो। यो परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड नेपालको प्राविधिक सहयोग तथा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ।

कार्यशालामा गाउँपालिकाको स्थानीय शिक्षा क्षेत्र योजनाका प्राथमिकता, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। छलफल, समूहकार्य तथा प्रस्तुतीकरणमार्फत स्थानीय तहले शिक्षा क्षेत्रमा गर्नुपर्ने क्रियाकलाप र सुधारका सम्भावित उपायबारे समेत छलफल गरिएको थियो।

कार्यशालामा डिजिटल शिक्षाको कमी, टोल शिक्षाको व्यवस्था, अपाङ्गतामैत्री शिक्षण सिकाइ, गुनासो सुनुवाइको प्रभावकारी कार्यान्वयन, अपाङ्गतामैत्री विद्यालय भवन, विद्यार्थीले विद्यालय छोड्ने समस्या तथा शिक्षक दरबन्दीलगायतका विषयलाई चुनौतीका रूपमा उठाइएको थियो।

कार्यक्रमको सञ्चालन तथा अभिमुखीकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले गरेका थिए। उनले स्थानीय शिक्षा क्षेत्र योजनाको महत्त्वबारे जानकारी दिँदै आगामी दिनमा शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने बताए। स्थानीय आवश्यकता र सरोकारवालाको सहभागितामा योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले समतामूलक तथा समावेशी शिक्षाका लागि सबै वर्ग र समुदायका विद्यार्थीको पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्नुपर्ने बताए।

एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला संयोजक गंगा भण्डारीले स्थानीय शिक्षा क्षेत्र योजनाको समीक्षा तथा प्रस्तुतीकरण गरेकी थिइन्। उनले सबैको समन्वयमा शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान तथा समाधानका लागि समय–समयमा छलफल र कार्यशालाको आवश्यकता रहेको पनि उनले बताइन्।

कार्यशालामा वडा नम्बर ३ का वडाध्यक्ष टीकाराम डंगौराले सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षाको महत्त्व रहेको बताए। स्थानीय तहको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक भएकाले शिक्षा सुधारका योजनालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। विद्यालयको आवश्यकता पहिचान गरी स्थानीय तहबाट आवश्यक सहयोग, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

उनले बालिका तथा समावेशी शिक्षासम्बन्धी जानकारी सबै विद्यालयमा पुर्‍याउनुपर्ने बताउँदै अन्य विद्यालयले गरेका राम्रा अभ्यासलाई आफ्नो विद्यालयमा पनि लागू गर्न आग्रह गरे। सबैको समन्वय र सहकार्यबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले स्थानीय तहको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। शिक्षा क्षेत्रमा सुधारका लागि स्थानीय तहले विभिन्न काम गरिरहेको उल्लेख गर्दै उनले यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए। सबै वर्ग, समुदाय तथा विद्यार्थीका लागि शिक्षामा समान पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्ने विषयलाई स्थानीय शिक्षा योजनाको प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले स्थानीय शिक्षा योजनाको महत्त्वबारे चर्चा गर्दै विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको नियमितता, सिकाइ उपलब्धि, शिक्षकको भूमिका तथा स्थानीय तह र विद्यालयबीचको समन्वयका विषयमा नियमित छलफल आवश्यक रहेको बताइन्। शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि स्थानीय तह, विद्यालय, नागरिक समाज तथा साझेदार संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।

कार्यशालामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, छवटै वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्य, १६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला संयोजक तथा प्रतिनिधि, पत्रकारलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सेयर कर दियो ।