धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवरिया सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सामुदायिक वनको पारदर्शी व्यवस्थापन, आर्थिक सुशासन, वन संरक्षण, स्थानीय सरकारसँगको समन्वय तथा उपभोक्ताको हितमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सभामा समूहका कोषाध्यक्ष रामचन्द्र रानाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै कुल आम्दानी ६४ लाख ६४ हजार ७०९ रुपैयाँ १६ पैसा बराबरको आर्थिक विवरण सार्वजनिक गरेका थिए।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि ३२ लाख ६ हजार ५७२ रुपैयाँको अनुमानित वार्षिक कार्ययोजना लेखा समिति सदस्य पृथ्वीराम रानाले प्रस्तुत गरेका थिए। समूहकी सचिव सरस्वती रेग्मी ढुङ्गानाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले सञ्चालन गरेका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएकी थिइन्।

सभाका अध्यक्ष भगीराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत दिवस्प यादव प्रमुख अतिथि तथा वडा अध्यक्ष मोती राना विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता महासंघका महासचिव दण्डी सुवेदी, वडा नं. ७ का वडा सदस्य सरस्वती चन्द, श्री सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र शाह, श्री शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल राना, सबडिभिजन वन कार्यालयका अधिकृत सत्य कुमाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामुदायिक वनका सरोकारवालाको उपस्थिति थियो।

सामुदायिक वनलाई सामाजिक एकता र सुशासनको नमुना बनाउनुपर्नेमा जोड

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोती रानाले कुनै पनि सभा, समारोह तथा सार्वजनिक कार्यक्रमलाई सफल बनाउन उपभोक्ता र सहभागीहरूको अनुशासित व्यवहार, संयमता तथा एकअर्काको विचार सुन्ने संस्कृतिको महत्त्व औँल्याए। उनले समुदायमा कायम सद्भाव, एकता र भाइचारालाई सामुदायिक विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए।

स्थानीय सरकारको बजेट सीमित हुने र सबै रकम विकास निर्माणमा मात्रै खर्च गर्न नसकिने अवस्था रहेको उल्लेख गर्दै उनले सामुदायिक वनसँग उपलब्ध स्रोतसाधनको सदुपयोग गर्न सके स्थानीय विकासमा थप योगदान पुर्‍याउन सकिने धारणा राखे।

उनका अनुसार सामुदायिक वनले वन संरक्षणमा मात्र सीमित नभई उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउन सक्छ।

देवरिया सामुदायिक वनको व्यवस्थापन प्रशंसनीय : दण्डी सुवेदी

राष्ट्रिय उपभोक्ता महासंघका महासचिव दण्डी सुवेदीले देवरिया सामुदायिक वनको व्यवस्थापन, साधारण सभा सञ्चालन प्रक्रिया तथा संस्थागत प्रणालीको प्रशंसा गरे।

उनले कैलालीका अन्य सामुदायिक वनका लागि समेत देवरिया सामुदायिक वनको अभ्यास अनुकरणीय हुन सक्ने बताए। उनका अनुसार वनले प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीय संस्कृति, मौलिकता र सामाजिक सद्भावको संरक्षणमा पनि भूमिका निर्वाह गरिरहेको छ।

विभिन्न जातजाति, भाषाभाषी तथा समुदायका व्यक्तिलाई एउटै साझा संस्थामा समेट्न सफल हुनु देवरिया सामुदायिक वनको सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे।

सामुदायिक वनलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्दै सबै पक्षलाई समेटेर अघि बढ्ने अभ्यास र पदाधिकारी परिवर्तन भए पनि स्थापित प्रणालीअनुसार संस्था सञ्चालन हुनु संस्थागत परिपक्वताको संकेत भएको सुवेदीको भनाइ थियो।

बजेटको दोहोरोपन हटाउन स्थानीय सरकारसँग समन्वय गर्न सुझाव

कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत दिवस्प यादवले सामुदायिक वनको वार्षिक कार्ययोजना तयार गर्दा स्थानीय सरकारका नीति, कार्यक्रम तथा बजेटसँग समन्वय गर्नुपर्नेमा जोड दिए।

उनले स्थानीय सरकार र सामुदायिक वनबाट एउटै प्रकृतिका कार्यक्रम सञ्चालन हुँदा स्रोतको दोहोरोपन हुन सक्ने भएकाले त्यस्ता कार्यक्रम पहिचान गरी आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिए। समान उद्देश्य भएका कार्यक्रमलाई साझेदारीमा सञ्चालन गर्दा बजेटको प्रभावकारी उपयोग, कार्यक्रमको गुणस्तर र स्थानीय स्वामित्व बढाउन सकिने उनको भनाइ थियो।

उनले आगामी कार्ययोजना तयार गर्दा गरिबी न्यूनीकरण, सीप विकास, रोजगारी सिर्जना, महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताए। साथै खानेपानी, सरसफाइ, वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको मर्मतसम्भार र संस्थागत क्षमता अभिवृद्धिजस्ता विषयलाई पनि योजनामा समेट्नुपर्नेमा जोड दिए।

विगतका कार्यक्रमको समीक्षा गर्दै प्राप्त सुझाव तथा स्थानीय आवश्यकताका आधारमा आगामी योजना परिमार्जन गर्न सके सामुदायिक वनका कार्यक्रम अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बन्ने उनको धारणा थियो।

पूर्वअध्यक्ष तथा सरोकारवालाबाट शुभकामना

सभामा समूहका पूर्वअध्यक्ष उद्धवबहादुर विष्ट, ज्ञानेन्द्र शाह, नन्दलाल राना, नवज्योति कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष भिराराम राना तथा सृजना सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष यमुना भट्ट जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले सामुदायिक वनको दिगो संरक्षण, उपभोक्ताको हित, संस्थागत पारदर्शिता तथा समुदायको आर्थिक र सामाजिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन समूहकी सचिव सरस्वती रेग्मी ढुङ्गानाले गरेकी थिइन् भने स्वागत मन्तव्य समूहका सल्लाहकार कृष्णराज ओझाले दिएका थिए।

सेयर कर दियो ।