धनगढी । धनगढी उपमहानगरपालिका–७, मनेहरामा आयोजना हुने चौथो मनेहरा कप–२०८३ खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ। यसअघि असोज १६, १७ र १८ गते सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अब २०८३ साल कात्तिक १३, १४ र १५ गते सञ्चालन हुने भएको हो।

मनेहरा स्पोर्ट्स क्लबले जारी गरेको सूचनामार्फत निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको जनाउँदै नयाँ मिति सार्वजनिक गरेको हो। क्लबले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी, टिम तथा खेलप्रेमीहरूलाई नयाँ मितिअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको छ।

स्थानीय स्तरमा भलिबल खेलको विकास तथा विस्तार गर्ने, प्रतिभावान खेलाडीको पहिचान गर्ने र खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विभिन्न वडा तथा क्षेत्रबाट पुरुष भलिबल टिमहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, तृतीय हुने टिमलाई नगद ९ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। सम्बन्धित वडास्तरीय पुरुष भलिबल टिमहरूलाई तोकिएको प्रक्रिया पूरा गरी सहभागिता सुनिश्चित गर्न आयोजकले आग्रह गरेको छ।

भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने क्लबले जनाएको छ। सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति तथा प्रतिभालाई समेत प्रस्तुत गर्ने तयारी गरिएको छ।

मनेहरा स्पोर्ट्स क्लबका अध्यक्ष विजय कुमार रानाले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षबाट सहयोग, सहभागिता र सहकार्यको अपेक्षा गरेका छन्।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रोमाञ्चक भलिबल प्रतिस्पर्धासँगै सांस्कृतिक कार्यक्रमसमेत हुने भएकाले मनेहरा तथा आसपासका क्षेत्रका खेलप्रेमी दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

सेयर कर दियो ।