कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान पुनर्वास नगरपालिका-१ पुरैनाको भित्री कच्ची सडकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो। प्रहरी टोली घटनास्थल पुगेपछि केही व्यक्ति भने फरार भएका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद २० हजार ९ सय १० रुपैयाँ, विभिन्न कम्पनीका ५ थान मोबाइल, खुला अवस्थामा रहेका ५ गड्डी तास र सिल प्याक २ गड्डी तास बरामद गरिएको छ।

यस्तै, जुवातास खेल्न प्रयोग भएको आशंकामा १२ वटा मोटरसाइकल, १ स्कुटर, ३ वटा कार र १ स्कारपियो गरी १५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू, बरामद सामग्री तथा नियन्त्रणमा लिइएका सवारीसाधनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीको ले जानकारी गराउनु भएको थियो।

सेयर कर दियो ।