नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा रहेको श्री कञ्चन सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन, उपभोक्ताको हित तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता श्री कञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण सिंह ऐरले गर्नुभएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिका–४ का वडा सदस्य गर्भु राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सीएफसीसी कञ्चनपुरका उपाध्यक्ष निर्मल भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष बन्धो रानाले स्वागत मन्तव्य राख्दै सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा उपभोक्ताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले वन संरक्षणसँगै उपभोक्ताको आवश्यकता र हितलाई समेत ध्यान दिँदै वन व्यवस्थापनका गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण समेत प्रस्तुत गरिएको थियो। समूहकी कोषाध्यक्ष रेश्मा रानाले समूहको आर्थिक कारोबारसम्बन्धी विवरण प्रस्तुत गर्दै कुल रु. २२ लाख ७९ हजार ९ सय ६० बराबरको आर्थिक कारोबार भएको जानकारी गराउनुभएको थियो। प्रस्तुत आर्थिक विवरणमाथि सहभागीहरूले छलफल गर्दै समूहको आर्थिक पारदर्शिता र व्यवस्थित व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधि, वन रक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा दिगो उपयोगका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।
सामुदायिक वनले स्थानीय वातावरण संरक्षणसँगै उपभोक्ताहरूको दैनिक आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रममा बताइएको थियो। वन क्षेत्रको संरक्षण, चोरी–तस्करी नियन्त्रण, वृक्षरोपण तथा वन स्रोतको दिगो उपयोगलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
साधारण सभालाई औपचारिक कार्यक्रमसँगै मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई थप उत्साहित बनाएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक दीपेन्द्र रानाले गर्नुभएको थियो।






