कञ्चनपुर । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न थालिएको छ। बाँधको जलाशयमा जम्मा भएको सिल्ट (गेग्रान) सफा गर्न शनिबार बिहान १ बजेदेखि बाँधका ढोका खोलिएको हो।

एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसनका अनुसार जलाशयमा जम्मा भएको सिल्ट हटाउन ४८ घण्टासम्म सिल्ट फ्लसिङ गरिनेछ। असोज १७ गते बिहान १ बजेदेखि सुरु भएको प्रक्रिया असोज १९ गते बिहान १ बजेसम्म सञ्चालन हुनेछ।

बाँधबाट पानी छोडिएसँगै महाकाली नदीको तल्लो तटीय क्षेत्रमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनका अनुसार असोज १७ देखि १९ गतेसम्म तथा त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम छ।

यसअघि धौलीगंगा बाँधबाट पानी छोड्ने कार्यक्रम असोज ११ र १२ गतेका लागि तय गरिएको थियो। तर, निरन्तर वर्षा र महाकाली नदीमा बढेको जलस्तरका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो।

बाँधबाट छोडिएको पानी तल्लो तटीय क्षेत्रमा आइपुग्दा नदीको बहाव बढ्न सक्ने भएकाले प्रशासनले नदीमा माछा मार्ने, दाउरा संकलन गर्ने, फोटो तथा भिडियो खिच्ने लगायतका कामका लागि नदी किनार वा नदीभित्र नजान आग्रह गरेको छ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले महाकाली नदीको जलस्तरमा भइरहेको परिवर्तनको निगरानी गरिरहेका छन्। नदीमा पानीको बहाव बढेर जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको छ।

सेयर कर दियो ।