धनगढी उपमहानगरपालिका-१० जुगेडामा असोज २० देखि २४ गतेसम्म निसर्ग इन्डो–नेपाल जुगेडा कप-२०८३ भलिबल प्रतियोगिता हुने भएको छ। संयुक्त राना जनचेतना परिवारको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहनेछ।
असोज १६ गते आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी, पुरस्कार र उद्देश्यबारे जानकारी दिइएको हो। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाख रुपैयाँ तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको टाइटल स्पोन्सर निसर्ग हस्पिटल र मुख्य प्रायोजक केयर टेकर हस्पिटल रहेका छन्। धनगढी उपमहानगरपालिका–१० नं. वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
कार्यक्रमका अध्यक्ष रवि राना रहेका थिए। प्रमुख अतिथिमा निसर्ग अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ एवं बोर्ड अफ डाइरेक्टर डा. प्रदीप मिश्र रहेका थिए। विशिष्ट अतिथि वडा अध्यक्ष सुखदेव राना तथा अतिथिमा निसर्ग अस्पतालका कर्मचारी रामचन्द्र कपाडी, रेफ्री संयोजक दिनेशप्रसाद भट्ट, मुख्य संयोजक सुरज राना, खेल संयोजक भगिरथ राना लगायत पत्रकारहरूको उपस्थिति थियो।
प्रमुख अतिथि डा. मिश्रले खेललाई मनोरञ्जनमा मात्र सीमित नराखी खेलाडीको क्षमता, प्रतिभा र आर्थिक सम्भावनासँग जोड्नुपर्ने बताए। उनले यस्ता प्रतियोगिताले ग्रामीण तथा सीमावर्ती क्षेत्रका प्रतिभालाई अवसर दिने र खेलाडी व्यवसायीकरणको आधार तयार गर्ने धारणा राखे।
उनले भने, खेलाडीलाई अवसर र सम्मान दिन सके खेलबाटै भविष्य निर्माण गर्न सकिन्छ। जुगेडामा आयोजना हुने यो प्रतियोगिताले खेलसँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि जोड्ने विश्वास छ।
प्रतियोगितालाई खेलसँगै संस्कृति र पर्यटन प्रवर्द्धनको माध्यम बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति समावेश गरिने तथा रानाथारू समुदायको कला, भाषा, संस्कृति र परम्परालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुने प्रतियोगिताले दुई देशका खेलाडीबीच खेल सम्बन्ध विस्तार गर्नुका साथै जुगेडालाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउन सहयोग गर्नेछ। प्रतियोगिताका कारण स्थानीय होटल, व्यापार तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
खेलाडी व्यवसायीकरण, खेल पर्यटनको विकास तथा प्रवर्द्धन लाई मूल उद्देश्य बनाइएको प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन आयोजकले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।






