दिनेश राना–धनगढी । धनगढी उपमहानगरपालिका–१५ उर्मीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासका लागि शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
विद्यालयको शैक्षिक, भौतिक तथा आध्यात्मिक विकाससँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले असोज २५ गतेदेखि ३१ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार महायज्ञको उद्घाटन असोज २५ गते बिहान ९ बजे कलश यात्रासहित गरिनेछ।
महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचक आचार्य श्री किशोर शरण सुबेदी महाराजबाट श्रीमद्भागवत कथा प्रवचन हुने जनाइएको छ। साथै योग विज्ञान शिविर, स्थानीय जडीबुटी पहिचान, श्रीमद्भागवत मूलपाठ तथा रुद्रीपाठ, शालिग्राम पूजा, भजन–कीर्तन, दिव्य झाँकी तथा बाल संस्कार कार्यक्रमलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
महायज्ञका संयोजक तथा धनगढी–१५ का वडा सदस्य दलबहादुर रोकायाले वडामा रहेको एक मात्र माध्यमिक विद्यालयको विकासका लागि महायज्ञ आयोजना गरिएको बताए। उनका अनुसार महायज्ञलाई विद्यालयको शैक्षिक, भौतिक र आध्यात्मिक विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाइएको छ। उनले वडा तथा नगरवासीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक तथा महायज्ञका महासचिव अमरसिंह तारामी मगरले राष्ट्रिय माध्यमिक विद्यालय २०२९ सालमा स्थापना भए पनि हालसम्म कक्षा १० सम्म मात्रै सञ्चालनमा रहेको बताए। विद्यालयको शैक्षिक प्रगति, भौतिक संरचना तथा व्यवस्थापकीय सुधारका लागि आर्थिक स्रोत आवश्यक रहेकाले महायज्ञ आयोजना गरिएको उनको भनाइ छ।
उनले आर्थिक अभावका कारण विद्यालयको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै महायज्ञबाट प्राप्त सहयोगले विद्यालयको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
विद्यालयका शिक्षक तथा प्रचारप्रसार समितिका संयोजक दीपकराज जोशीले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग जोड्नुका साथै विद्यालयको विकासमा योगदान पुर्याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए।
त्यस्तै, महायज्ञका सचिव रामसिंह रानाले धार्मिक तथा शैक्षिक उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।
यज्ञका उद्घोषक गोपाल शरण अत्रीले विद्यालय व्यवस्थापन समिति, विद्यालय र स्थानीयवासीको आग्रहमा महायज्ञ आयोजना गर्न लागिएको बताए। विद्यालयको सर्वाङ्गीण विकासका लागि आयोजना हुन लागेको महायज्ञमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ।
महायज्ञमा तुलादान, भूमिदान, अन्नदान, गौदान, पितृपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा तथा ब्राह्मण वरण लगायतका धार्मिक सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ।
आयोजकले महायज्ञमा वडा तथा नगरवासी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी तथा श्रद्धालु भक्तजनलाई सहभागी भई विद्यालयको विकास अभियानमा सहयोग गर्न आग्रह गरेको छ।







