नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाको अध्यक्षता बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लछुवा रानाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा लालझाडी गाउँपालिका–२ का वडा अध्यक्ष आशाराम राना र सामुदायिक वन उपभोक्ता महासंघ (CFCC) कञ्चनपुरका उपाध्यक्ष निर्मल भट्टको उपस्थिति रहेको थियो। कार्यक्रममा भानु माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष प्रकाश राना, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधि, स्थानीयवासी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका सदस्य विनोद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले सामुदायिक वनको संरक्षण, विकास तथा उपभोक्ताको सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
साधारण सभामा सामुदायिक वनको आर्थिक गतिविधिसहित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। समूहकी कोषाध्यक्ष मञ्जु रानाले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै कुल रु. १० लाख ५१ हजार ४ सय १६ बराबरको आर्थिक विवरण सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।

साधारण सभालाई थप मनोरञ्जनात्मक तथा सन्देशमूलक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार तथा सहभागीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, वन संरक्षण, वातावरणीय सचेतना तथा सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक नाटकसमेत प्रस्तुत गरिएको थियो।
सामुदायिक वन स्थानीय समुदायको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण र संवर्द्धनमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका थिए। वन संरक्षणसँगै स्थानीय समुदायको आवश्यकता र वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर सामुदायिक वनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो।कार्यक्रम एकल महिला लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन स्थानीय खुसी राम रानाले गर्नुभएको थियो। साधारण सभामा सहभागीहरूले सामुदायिक वनको आगामी योजना तथा गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।







