रसुवाको भोटेकोसीमा भाद्र १० गते आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। विदेशी विज्ञसहितको संयुक्त टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसी पुर्याएका एक्साभेटर र लोडरको प्रयोग गरी करिब १,०५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर लेदो तथा भग्नावशेष पन्छाउने काम गरिरहेको छ।
उद्धारका क्रममा सुरुङको करिब ७० मिटर भित्रबाट पानी बगिरहेको फेला परेको थियो। उक्त प्वालबाट प्रवेश गरी १३० मिटरसम्म पुग्दा पानीको सतह माथिल्लो भागसम्मै पुगेकाले मेसिनरी उपकरण प्रयोग गर्न नसकिने जटिल अवस्था सिर्जना भएको थियो।
आज (२०८३ भाद्र ३१ गते) गोताखोर टोलीले उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारसम्म खोजी गर्दा ३ वटा शव फेला पारेको छ। फेला परेकामध्ये २ वटा शव बाहिर निकालिसकिएको छ भने बाँकी एक शव निकाल्ने प्रयासका साथै थप खोजी कार्य जारी रहेको छ।







