दिनेश राना/ कैलाली — रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त बनाएका झोलुङ्गे पुलहरूको मर्मत कार्य सरकारले तीव्र गतिमा अघि बढाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन पहिलो चरणमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरिएको हो।
मर्मत कार्य सुरु भएका पुलहरूमा धादिङतर्फका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शीतलबजार–क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन्। त्यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत भइरहेको छ। यी सबै १२ वटा पुल आगामी असोज २० गतेभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुल मर्मतका लागि प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको छ। मर्मतका लागि आवश्यक ‘डेक’ लगायतका सामग्री आपूर्ति गर्न विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भई पहिलो चरणको सामग्री कार्यस्थलमा पुगिसकेको छ भने दोस्रो चरणको ‘स्टिल पार्ट्स’ खरिद प्रक्रिया अघि बढाइएको छ।
मर्मत सम्भव नहुने गरी पूर्ण रूपमा क्षति भएका करिडोरका ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक पर्ने फलामे लठ्ठा र ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिदका लागि पनि बोलपत्र प्रक्रिया सुरु भइसकेको छ।







