नरेश राना / लालझाडी, कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय तेस्रो बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालयमा बालबालिकाले भोगिरहेका समस्या तथा गुनासोको प्रभावकारी सुनुवाइ, विद्यालयको स्क्रिनिङ प्रक्रिया, मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तथा परामर्श कार्यक्रम सञ्चालनलगायतका विषयमा विस्तृत छलफल गरिएको छ।
बैठकले विद्यालयमा प्राप्त हुने बालबालिकाका गुनासा तथा समस्याको नियमित अनुगमन गरी गुनासो सुनुवाइ प्रणालीलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ। साथै, विद्यालयमा सञ्चालन भइरहेको स्क्रिनिङ प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने तथा बालबालिकाको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयस्तरमै मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण र परामर्श सेवा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको हो।
बैठकमा विद्यालयका प्रधानाध्यापक तथा गुनासो सुनुवाइको जिम्मेवारीमा रहेका शिक्षकलाई एजुकेसन पेज नेपालको प्राविधिक सहयोगमा गुनासो सुनुवाइ तथा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि बढाइएको छ। यसबाट विद्यालयमा बालबालिकाले आफ्ना समस्या र गुनासा सहज रूपमा राख्न सक्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयमा भएका गुनासा तथा समस्याको प्रभावकारी अनुगमन गर्दै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने बताए। विद्यालयमा स्क्रिनिङ प्रक्रिया छिटो सम्पन्न गर्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण र परामर्शलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष रानाले विद्यालय, अभिभावक, शिक्षक तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँदै सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। त्यसका लागि गाउँपालिकाको तर्फबाट आवश्यक समन्वय, सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले बालिका तथा समावेशी शिक्षा सञ्जाललाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताइन्। विद्यालयमा बालबालिकाका गुनासा तथा समस्याको नियमित अनुगमन, स्क्रिनिङ प्रक्रिया शीघ्र सम्पन्न तथा आवश्यक मानसिक स्वास्थ्यसम्बन्धी सेवा र परामर्श उपलब्ध गराउन सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्न गाउँपालिकाले सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने बताइन्।
बैठकमा विभिन्न विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक, बालक्लबका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य विभिन्न कारणले शिक्षाबाट पछाडि परेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन समावेशी शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले गरेका थिए। उनले बालिका तथा समावेशी शिक्षाको प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन गाउँपालिकाको तर्फबाट पहल गरिने बताए। विद्यालयमा बालबालिकाका गुनासा सुन्ने संयन्त्रलाई प्रभावकारी बनाउन तथा उनीहरूको मानसिक स्वास्थ्य र शैक्षिक वातावरण सुधार गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।
बैठकमा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ, एनएनएसडब्लुए, गाउँपालिकाको नेतृत्व, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखालगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिकाको अधिकार, समावेशी शिक्षा, मानसिक स्वास्थ्य, गुनासो सुनुवाइ तथा विद्यालयमा सुरक्षित र बालमैत्री वातावरण निर्माणका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
बैठकले विद्यालयमा बालबालिकाका समस्या र गुनासोलाई बेवास्ता नगरी समयमै पहिचान तथा समाधान गर्ने, गुनासो सुनुवाइ संयन्त्रलाई सक्रिय बनाउने, विद्यालयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तथा परामर्श सञ्चालन गर्ने र बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्न सरोकारवालाबीच सहकार्य बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालेको छ।
कार्यक्रम एक्सेस परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। उक्त परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड नेपालको प्राविधिक सहयोग तथा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको जनाइएको छ। हाल स्वीट नेपालले समेत परियोजनाअन्तर्गत काम गरिरहेको जनाएको छ।






