नरेश राना / कञ्चनपुर 

शुक्लाफाँटा नगरपालिकाको आयोजनामा सार्वजनिक सेवा, सूचना व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख रणबहादुर महराको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख कल्पना जोशी, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सूचना व्यवस्थापनलाई व्यवस्थित गर्न तथा विपद्का समयमा सञ्चारमाध्यमको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महराले पत्रकारहरूका पेशागत समस्या, चुनौती तथा सुझावहरूबारे प्रत्यक्ष संवाद गर्न अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले लोकतान्त्रिक शासन प्रणाली, सुशासन प्रवर्द्धन, सार्वजनिक निकायको निगरानी तथा जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

विपद् व्यवस्थापनका सन्दर्भमा सञ्चारकर्मीहरूले सूचना सम्प्रेषण, जनचेतना विस्तार र उद्धार तथा राहत कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको भन्दै उनले पत्रकारहरूको योगदान प्रशंसनीय रहेको बताए। साथै नगरपालिकाले पत्रकारहरूको हकहित र पेशागत विकासका लागि सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार चित्राङ्ग थापाले पत्रकार आचारसंहिता, जिम्मेवार पत्रकारिता, सञ्चार क्षेत्रका चुनौती तथा आफ्नो व्यावसायिक अनुभवबारे प्रशिक्षण दिएका थिए। उनले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखे।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले कार्यक्रमको आयोजना गरेकोमा शुक्लाफाँटा नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक पत्रकारितालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सार्वजनिक सेवा, सूचना व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा तथा सुझाव समेत प्रस्तुत गरेका थिए।