काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी ले पार्टीको पहिलो महाधिवेशनबाट रवि लामिछाने नै सर्वसम्मत रुपमा सभापतिमा चयन हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने दोहोरिने निश्चितजस्तै रहेको धारणा राखे । उनले पार्टीलाई बलियो, एकढिक्का र व्यवस्थित बनाउँदै देशलाई निकास दिन नेतृत्वमा अनावश्यक प्रतिस्पर्धा वा हानथाप उचित नहुने बताए ।


उनका अनुसार सभापति बाहेक अन्य विभिन्न पदमा आकांक्षी देखिनु स्वाभाविक भए पनि हालसम्म औपचारिक छलफल भने नभएको स्पष्ट पारे ।
महामन्त्री बुर्लाकोटीले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर तीव्र तयारी भइरहेको जानकारी दिए । रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।







