धनगढी, सुदूरपश्चिम–सेती प्रादेशिक अस्पतालले सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थित गर्न र सेवा प्रवाहलाई थप चुस्त बनाउन आफ्नो सेवा समय तालिकामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को गत २०८२ चैत २२ गतेको निर्णय तथा ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ बमोजिम अस्पतालले नयाँ समय तालिका सार्वजनिक गरेको हो ।

नयाँ व्यवस्था अनुसार, अस्पतालको ओपिडी (OPD) नाम दर्ता सेवा अब बिहान ७ बजेदेखि नै सुरु हुनेछ र दिउँसो २:३० बजेसम्म सञ्चालन हुनेछ । बिहानैदेखि नाम दर्ता सुरु भएपछि टाढा-टाढाबाट आउने बिरामीहरूलाई सहज हुने र लाइन बस्नुपर्ने बाध्यतामा कमी आउने अस्पताल प्रशासनको विश्वास छ ।

यसैगरी, अस्पतालले ओपिडी सेवाको समय पनि थप गरेको छ । अब बहिरंग सेवा (OPD) सहित मातृशिशु स्वास्थ्य, सुरक्षित गर्भपतन, एआरटी (ART), निःसन्तान उपचार र क्षयरोग क्लिनिक जस्ता विशेष सेवाहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको तुलनामा सेवाको अवधि बढाइएपछि धेरैभन्दा धेरै सेवाग्राहीले स्वास्थ्य लाभ लिन सक्नेछन् ।

अस्पतालले अत्यावश्यक सेवाहरूमा भने कुनै फेरबदल गरेको छैन । आकस्मिक (Emergency), अन्तरङ्ग (Indoor), आईसीयू, प्रसूति सेवा, ओसिएमसी, फार्मेसी, प्रयोगशाला र एक्स–रे जस्ता सेवाहरू पहिलेकै अवस्थामा २४ सै घण्टा निरन्तर सञ्चालनमा रहनेछन् ।

नयाँ नियम अनुसार अब ओपिडी नाम दर्ता र बहिरंग सेवाहरू शनिबार र आइतबार गरी हप्ताको दुई दिन बन्द रहने व्यवस्था गरिएको छ । साथै, दिउँसोको खाजा समयमा समेत सेवा अवरुद्ध नहुने गरी कर्मचारीहरूको आलोपालो (रोटेसन) मिलाइएको अस्पतालले जनाएको छ। यसबाट बिरामीले खाजा समयमा पनि विना अवरोध सेवा प्राप्त गर्न सक्नेछन् ।