रानाथारु समाजमा पहिलोपटक छात्रवृत्तियुक्त लोकसेवा तयारी कक्षा

२०८२ जेष्ठ १०, शनिबार १६:०५
रानाथारु समाजमा पहिलोपटक छात्रवृत्तियुक्त लोकसेवा तयारी कक्षा

दिनेश राना/धनगढी, २०८२ जेठ १० नेपाल रानाथारु युवा समाज, काठमाडौँ, नेपालको आयोजनामा र जेनिथ इन्स्टिच्युट, धनगढीको सहकार्यमा सम्पन्न “निःशुल्क लोकसेवा तथा शिक्षा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” अत्यन्त सफल र प्रेरणादायी रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा उल्लेखनीय संख्यामा विद्यार्थीहरूको सहभागिता देखिएको थियो, जसले कार्यक्रमलाई जीवन्त र उद्देश्यपरक बनायो। समाजका केन्द्रिय अध्यक्ष कमल रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य वक्ताको रूपमा प्रेम बोहरा उपस्थित हुनुहुन्थ्यो।

प्रेम बोहरा, जो विगत २०६८ सालदेखि निरन्तर लोकसेवासम्बन्धी कक्षाहरू लिइरहनु भएको छ र ४० भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ, हाल जेनिथ काठमाडौँका संस्थापक समेत हुनुहुन्छ। उहाँले आफ्नो अनुभव र मार्गदर्शनमार्फत सहभागीहरूलाई लोकसेवा तथा शिक्षा सेवामा सफलता प्राप्त गर्ने उपायहरू प्रस्तुत गर्नु भयो।

कार्यक्रमको सञ्चालन जेनिथ इन्स्टिच्युटका व्यवस्थापक खडग जोशीले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य बन्दना राना र शुभकामना मन्तव्य युवा नेता विप्लव रानाले दिनुभएको थियो।

प्रेम बोहराले भन्नुभयो
“रानाथारु समाज अत्यन्त कर्मठ छ। तर आर्थिक अवस्थाका कारण धेरै युवा लोकसेवाको तयारीबाट वञ्चित छन्। त्यसैले यस्तो कार्यक्रमको आवश्यकता थियो। सरकारी सेवाले ल्याउने स्थायित्व र आत्मसम्मानको महत्व बुझ्न जरुरी छ।”

कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको रानाथारु समाजमा पहिलोपटक छात्रवृत्तियुक्त लोकसेवा तयारी कक्षा संचालन गरिएको घोषणा थियो। यसबारे समाजका अध्यक्ष कमल रानाले भन्नुभयो “हामीले अनलाइन माध्यमद्वारा ५० जना लोकसेवा तथा ५० जनालाई शिक्षकसेवा पढ्न छात्रवृत्तियुक्त तयारी कक्षाको थालनी गरेका छौं, साथै १० जना जेहेनदार, आर्थिक अवस्था कमजोर भएकालाई भौतिक कक्षाको व्यवस्था पनि गरेका छौँ । जुन हाम्रो समाजको लागि पहिलो र ऐतिहासिक कदम हो। आगामी दिनहरूमा समाजको समृद्धिका लागि यस्तै थप योजनाहरू अघि ल्याउने छौं। निरन्तर अभ्यास गर्नेहरू कहिल्यै हार्दैनन्, त्यसैले यो अवसरको अधिकतम उपयोग गर्न म सबै युवाहरूसँग अनुरोध गर्दछु।”

कार्यक्रमले सहभागी विद्यार्थीहरूमा नयाँ ऊर्जा, उत्साह र मार्गदर्शन प्रदान गरेको स्पष्ट देखिएको थियो।

समापनमा अध्यक्ष रानाले जेनिथ इन्स्टिच्युट, सहयोगी शिक्षक–प्रशिक्षक, र सम्पूर्ण सहभागीहरूप्रति विशेष आभार व्यक्त गर्दै, यस्ता कार्यक्रमहरूले समुदायलाई अझ प्रगतिशील बनाउने दृढ संकल्प व्यक्त गरेको र यो कार्यक्रम रानाथारु समाजमा शैक्षिक सशक्तिकरण, अवसरको पहिचान र सामाजिक उत्थानतर्फको एउटा सार्थक खुड्किलो बन्ने कुरामा विश्वस्त रहेको बताउनु भएको थियो ।