दिनेश राना/कैलाली । प्रेस चौतारी नेपाल, कैलालीले पत्रकारिताको आडमा भइरहेका गैर-पेशागत गतिविधिहरू तत्काल रोक्न माग गरेको छ । बिहीबार प्रेस चौतारीले पत्रकार महासंघ कैलालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्ता कार्यले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।
प्रेस चौतारीले पत्रकार र सञ्चार माध्यमको नियमन गर्ने प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कैलालीसहितका केही जिल्लाहरूमा मिडियाको आवरणमा सरकारी कार्यालयमा गएर विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्की दिने, अनाधिकृत कार्ड बनाएर गैर-पेशागत क्रियाकलाप गर्ने, र पत्रकार सम्मेलन गरिदिने भन्दै रकम असुली गर्ने जस्ता कार्यहरू बढ्दै गएको उल्लेख छ ।
प्रेस चौतारीका अध्यक्ष जनक सिंह विष्टले यस्ता कार्यले पेशागत मर्यादा पालन गर्दै व्यवसायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको मनोबलमा ठेस पुगेको र जिल्लाको सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै बदनाम बनाउने खतरा रहेको बताए ।
प्रेस चौतारी कैलालीका अध्यक्ष जनक सिंह विष्टले महासंघका अध्यक्ष श्रवण देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै गैर-पेशागत गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । संगठनका अध्यक्ष र सचिव दिनेश विष्टले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा गैर-सञ्चार माध्यमको प्रयोग गरेर पत्रकारको उपमा दिई अमर्यादित सामग्री सम्प्रेषण गरी समाजमा भ्रम फैलाउने कार्यमा संलग्नहरूको समेत पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमार्फत प्रेस चौतारीले जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरूलाई प्रेस आचारसंहिताभित्र रही मर्यादित, सभ्य र व्यवसायिक पत्रकारिता गर्न आग्रह गरेको छ । पत्रकारिता पेशाको विश्वसनीयता र गरिमा जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै प्रेस चौतारीले पेशागत मूल्य-मान्यता कायम राख्न सबैको सहयोगको अपेक्षा गरेको छ ।
महासंघका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउन प्रेस चौतारीका अध्यक्ष विष्टसहित सचिव दिनेश विष्ट, सहसचिव ध्रुव ओझा, सदस्य पूर्णबहादुर साउद, दिनेश राना लगायतका नेताहरू पत्रकार महासंघको कार्यालय पुगेका थिए ।