धनगढी । कैलालीको धनगढीमा शैक्षिक महोत्सव तथा पुस्तक प्रदर्शनी मेला आयोजना हुने भएको छ । सामाजिक रूपान्तरण शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको प्रवर्धन तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय सङ्घ कैलालीको आयोजनामा महोत्सव संचालन हुने भएको हो ।

महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक स्टेशनरी वितरक शैक्षिक संस्था मसलन्द सामग्री शिक्षण संस्थाहरू र शिक्षासँग सम्बन्धित निकायहरूका गरी १०० भन्दा बढी स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

साथै महोत्सवमा विद्यालय स्तरीय नृत्य कविता वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवमा मदन पुरस्कार विजेता साहित्यकार र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूको समेत सहभागिता रहने छ ।

महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने र सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टलसमेत समावेश गरिएका छन् ।

महोत्सव २ लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड भन्दा बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ । योसँगै महोत्सव आयोजना गर्नलाई झण्डै २ करोड खर्च हुने अनुमान आयोजक पत्रकार सम्मेलनमा जानकारी गरेको छ।

महोत्सवका लागि विद्यालय र क्याम्पसका विद्यार्थी सामूहिक पोशाकमा आएमा निशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिएको छ ।

पहिलोपटक २०६७ सालमा आयोजना गरिएको वृहत्त राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई १४ वर्षपछि धनगढीमा आयोजनाको प्रयास भएको छ। आमसुदूरपश्चिमबासी, सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी, उद्यमी व्यवसायीहरूलाई आआफ्नो तर्फबाट सहयोग गरी महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलाली शाखाका अध्यक्ष भीम पडालले आग्रह गरेका छन् ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार बिहान १० बजे गर्ने तय गरिएको छ । साथै उद्घाटन भन्दा अगाडि धनगढीको ट्राफिक चौराहादेखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभातफेरी आयोजना गर्नेसमेत आयोजकले जानकारी दिएको छ।