बेलौरीको एक स्वास्थ्यकर्मी माथि हातपात र गालीगलौज

३ आश्विन २०८०, बुधबार
बेलौरीको एक स्वास्थ्यकर्मी माथि  हातपात र गालीगलौज

शुक्रराज राना/बेलौरी: कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि एक समूहमा आएका व्यक्तिहरूले हातपात र गालीगलौज गरेका छन् । गए राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो । बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले ड्युटीमा रही घाइतेको घाउ सफाइ गरिरहेको समयमा गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेब गैरेको भनाइ छ । उनले यसअघि पनि थुप्रैपटक यस्तो दुस्प्रयास भएकोले यो घटना सुनियोजित भएको बताएका छन् ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिए अनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारलाई भने खड्काले सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन् । आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पुर्‍याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको र आफूले धक्का मात्रै दिएको उनको भनाइ छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले बताएका छन् । घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागिरी शैलीमा आएर अनायासै हातपात र गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गर्दै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर बिष्टले अन्यथा स्वास्थ्यकर्मीहरूले अन्य विकल्प अपनाउने चेतावनी दिएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीले भने दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio