कैलाली: नेपोलियनले भनेका छन्, “सुन्दर हस्तलेखन आत्मसन्तुष्टिको खुराक हो ।” सिकाइका चार सीपहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । तीमध्ये लेखाइ हस्तलेखनसँग सम्बन्धित हुन्छ । हस्तलेखनले बौद्धिक मानिसको सफलतामा समेत योगदान पुर्याउँछ । विद्यार्थी जीवनमा त यसको अझ धेरै महत्त्व छ ।
सुन्दर हस्तलेखन बालबालिकाको सफलताको पहिलो खुड्किलो हो । यसले परीक्षामा राम्रो अङ्क मात्र ल्याउने होइन, परीक्षकलाई नै प्रोत्साहित बनाएर थप अङ्क ल्याउन पनि मद्दत पुग्दछ । राम्रो अक्षरले प्रत्येक प्रश्नमा झण्डै एक अङ्कको फरक पार्दछ ।
जसले पूरा पूर्णाङ्कमा दश अङ्क नै बढी आउन सक्दछ । राम्रो अक्षर भएमा आफूलाई पनि आत्मसन्तुष्टि प्राप्त भई झन् राम्रो लेख्न हौसला मिल्दछ । हस्तलेखन एउटा त्यस्तो ऐना मानिन्छ जहाँ बालबालिकाको शारीरिक, मानसिक र बौद्धिकताको छाया देख्न सकिन्छ । राम्रो अक्षर सिक्न चाहने विद्यार्थी र सिकाउन चाहने शिक्षकको महत्त्व बढेको पाइन्छ ।
हस्तलेखन राम्रो नभएर तपाईँ हामी धेरैलाई आफ्नै अक्षर देख्दा दिक्क पनि लाग्छ होला ।
तर पछिल्लो समयमा हस्तलेखनमा अभ्यास गराउनका लागि थुप्रै संस्था तथा व्यक्तिहरू त्यसको सारथी बनिरहेका छन् । त्यस्तै मध्येको एक हो, क्रिएटिभ स्किल सारथी प्रा.लि. । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको उक्त प्रा.लि.ले पछिल्लो केही वर्षयता विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थीहरूको हस्तलेखन सुधार गर्न तालिम सञ्चालन गरिरहेको क्रिएटिभ स्किल सारथी प्रा.लि.का प्रबन्ध निर्देशक तथा प्रमुख प्रशिक्षक मोहन जैसीले जानकारी दिनुभयो । हालै मात्र कञ्चनपुरको बेलौरी स्थित शान्ति माविमा समेत तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा सहभागी भई उत्कृष्ट हस्तलेखन गर्न सफल विद्यार्थीहरूलाई शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको छ ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका शान्ति माविका प्रधानाध्यापक प्रेम बहादुर थापाले हरेक विद्यार्थीहरूको हस्तलेखन अभ्यासमा क्रिएटिभ स्किल सारथीले पुर्याएको योगदानको उच्च सम्मान गर्नुभयो । उक्त सीपले विद्यार्थीहरूको लेखन कलाको विकास र उनीहरूलाई हरेक क्षेत्रमा सफलता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयलाई साउण्ड सिस्टम सौजन्य गरी प्रदान गरेकोमा उहाँले क्रिएटिभ स्किल सारथीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा सदस्य रुद्र प्रसाद अधिकारीले विद्यार्थी मात्रै नभई पढेलेखेका हरेक व्यक्तिका लागि हस्तलेखनको महत्त्व रहेको धारणा राख्नुभयो । उहाँले यस किसिमका अभ्यास सबै विद्यालयहरूले गर्नुपर्नेमा जोड दिनुभयो ।
बेलौरी नगरपालिका शिक्षा शाखाका सहायक विद्यालय निरीक्षक अमित प्रसाद भट्टले हस्तलेखन सम्बन्धी सीपबाट विद्यार्थीहरू र विद्यालयको समेत शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिकेको सीपलाई निरन्तर अभ्यास गर्न र अन्य सहपाठीहरूलाई समेत आफ्नो सीप बाढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । शिक्षा क्षेत्रमा यस्ता सीपहरू प्रदान गर्ने अभ्यास बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक चन्द्र प्रसाद पोखरेलले बालबालिकाहरूलाई सानैदेखि हस्तलेखनको राम्रो अभ्यास भएमा त्यसले उनीहरूको भविष्य अझै सुन्दर बनाउन प्रेरित गर्ने बताउनु भएको छ । उहाँले यस किसिमको सीप विकासमा सबै पक्षको सहयोग अनिवार्य रहेको धारणा राख्नुभयो । तालिममा सहभागी विद्यार्थीहरूले हस्तलेखन जस्तो महत्त्वपूर्ण सीप आर्जन गरेकोमा खुसी व्यक्त गर्दै तालिम प्रशिक्षकहरू र विद्यालय परिवार प्रति आभार व्यक्त गर्नुभएको छ ।
बेलौरीको शान्तिपुरकै स्थायी बसोबासी मोहन जैसी र उहाँको टिमले विद्यार्थीहरूलाई हस्तलेखन सम्बन्धी तालिम प्रदान गरेको हो । उहाँ भन्नुहुन्छ, “हाम्रो प्रारम्भिक पाठशाला जहाँ हालसम्म पनि मन मस्तिष्क भरि यही श्री शान्ति मा.वि. शान्तिपुर बेलौरी ४, कञ्चनपुरले हामीहरूलाई फरक र विशिष्ट पहिचान बनाउन हौसला र उत्प्रेरणा प्रदान गरिरहेको आभास हुन्छ । कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थी भाइबहिनीहरूको अन्तर मनसँग जोडिन पाउँदा अत्यन्तै गर्व महसुस भएको छ । हामी स्थानीय परिवेश सुहाउँदो New Creative Mind र Smart Calligraphy Writing सम्बन्धी प्रत्यक्ष दिगो लाभ हुने गरी कक्षा सञ्चालन गराउन सौहार्दपूर्ण वातावरण सृजना गरी रचनात्मक भूमिकामा रहनु हुने प्राचार्य सर, सहायक प्राचार्य सर, वाली विज्ञान संयोजक सर, कक्षा अध्यापक सर मेमहरू र सिङ्गो विद्यालय परिवारलाई ससम्मान कृतज्ञता अर्पण गर्दछौँ ।”