मुख्यमन्त्रीलाइ दिए मुक्त कमैयाहरूले माग सम्बोधनका लागि ज्ञापन पत्र

मुख्यमन्त्रीलाइ दिए मुक्त कमैयाहरूले माग सम्बोधनका लागि ज्ञापन पत्र

धनगढी, २ सावन । मुक्त कमैयाका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ/संस्थाले मुक्त कमैयाहरूले भोगिरहेका समस्या सम्बोधनको माग गर्दै प्रदेश सरकार मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार मुक्त कमैया समाज, कमैया प्रथा उन्मूलन समाज, मुक्त कमैया महिला विकास मञ्च, मुक्त कमैया यूवा समाज, कमैया महिला जागरण समाज कैलाली लगायतका संघ/संस्थाले संयूक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मुक्त कमैया महिला विकास मञ्च कैलालीकी अध्यक्ष कौशिला चौधरीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अझै पनि थुप्रै मुक्त कमैयाका समस्या समाधान हुन नसकेको गुनासो गरिन् ।
मुक्त कमैयाहरु अस्थायी शिविरमा गुजारा गरिरहेकाले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभुत मानवीय आवश्यकताहरूसंगै गास र बासको तत्काल व्यवस्था गर्न माग गरिन् । उनले भनिन्–‘सरकारले सुविधा दिने नाममा कसैलाई खोलाको बगर तथा कसैलाई बलौटे जग्गा दिएको छ भने कसैलाई सुकुम्बासी तथा किसानहरूको भोगचलन गरेको जग्गामा कित्ताकाट गरिएको छ ।’
मञ्चकी अध्यक्ष कौशिलाका अनुसार कैलालीमा परिचयपत्र प्राप्त आठ हजार नौ सय १० जना मुक्त कमैया परिवार रहेकोमा सरकारले एक सय ७३ जनाको परिचयपत्र खारेज जानकारी गराइन् । कैलालीमा सरकारले अहिलेसम्म आठ हजार सात सय १७ परिवारलाई बसोबास गराएको छ । मञ्चका अनुसार एक सय ९३ जना मुक्त कमैया परिवारले जग्गाधनी पुर्जा पाएर पनि बसोबास गर्न सकेका छैनन् ।
कैलालीमा परिचयपत्र प्राप्त गरेका एक सय ८७ जना मुक्त कमैया परिवारले जग्गा नपाएका कारण घर निर्माणका लागि काठवापतको रकम र घर निर्माण सहयोग रकम समेत सहज रुपमा पाउन नसकेको मञ्चकी अध्यक्ष कौशिलाले बताइन् ।
उनले सरकारले विभिन्न बहानामा मुक्त कमैया बसोबास गरेको जमिनबाट हटाउने गरिरहेको गुनासो गरिन । उनले भनिन्– ‘यस्ता कार्य सरकारले तत्काल बन्द नगरे आन्दोलनमा उत्रने छौं ।’
मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले प्रदेश स्तरमा अधिकारसम्पन्न मुक्त कमैया पुनस्र्थापना समस्या समाधान आयोग र स्थानीय स्तरमा मुक्त कमैया पुनःस्थापना समिति गठन गरी पुनस्र्थापना कार्य दु्रत गतिमा अघि बढाउनु पर्ने बताए ।
उनले अहिले कोरोना महामारीले विदेशबाट फर्केका बेरोजगार मुक्त कमैया परिवारहरू बढी मारमा परेको बताए । उनले भने–‘बेरोजगार मुक्त कमैया सदस्यहरूलाई शैक्षिक योग्यता, सीप र दक्षता अनुसार रोजगारको व्यवस्था गर्नुपर्छ ।’
उनले बसोबास तथा भोगचलन गरिरहेकै स्थानमा जग्गाको नाप नक्सा गरी यथाशिघ्र लालपूर्जा उपलब्ध गराउन सरकारसंग माग गरे ।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने–‘मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको छ ।’

उनले भुमिको अधिकार प्रदेश सरकारसंग नरहेकोले संघीय सरकारसंग समन्वय गरिने बताए । उनले मुक्त कमैया घोषणा भएको दुई दशक बितिसक्दा पनि समस्याको समाधान नभएको बताए ।

सेयर कर दियो ।

विज्ञापन